Sunday, December 7, 2025

दशैंको पहिलो दिन घटस्थापना आज, देवी दुर्गाको पूजासहित जमरा रोप्ने परम्परा

काठमाडौं, असोज ६ – नेपालीहरूको महान् चाड दशैंको प्रारम्भ आज घटस्थापनासँगै भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घर–घरमा घटस्थापना गरी देवी दुर्गाको आवाहन गरिन्छ। यस दिनलाई दुर्गापक्ष वा नवरात्रको सुरुवातको दिनका रूपमा पनि मानिन्छ।

घटस्थापनाका दिन बिहानै उपयुक्त साइतमा विधिपूर्वक कलश स्थापना गर्ने गरिन्छ। कलशलाई पवित्र जलले भरि, वरिपरि गोबरले लिपेर, माथि जौ, गहुँ, मकै (जमरा) रोप्ने चलन छ। त्यही जमरा दशौं दिन अर्थात् विजया दशमीका दिन टीकासँगै आशीर्वादस्वरूप ग्रहण गरिन्छ।

पारम्परिक विश्वास अनुसार, घटस्थापनाको दिनदेखि लगातार नौ दिनसम्म देवी दुर्गाका विभिन्न रुपहरूको पूजा आराधना गरिन्छ। यसलाई नवरात्र भनिन्छ। घर–घरमा अखण्ड दीप प्रज्वलन गरिन्छ, जसले देवी शक्तिको प्रतीकात्मक उपस्थितिलाई जनाउँछ।

शहरदेखि गाउँसम्म आजको दिन विशेष उत्साहका साथ मनाइँदैछ। काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ। दशैंलाई राष्ट्रिय एकता, पारिवारिक मेलमिलाप र शुभकामनाको पर्वका रूपमा लिइन्छ।

दशैं पर्वलाई नेपाली समाजमा असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्यापक श्रद्धाका साथ मनाइन्छ। यस पर्वसँग सम्बन्धित दुर्गा पूजालाई कुनै एक जात वा धर्मविशेषसँग मात्र जोडेर हेर्नुपर्ने आधार धर्मशास्त्रमा नभएको विद्वान्हरू बताउँछन्। बरु, यो चाडलाई सम्पूर्ण मानवजातिको कल्याण, शान्ति र समृद्धिको पक्षमा कार्य गर्ने शक्तिको अभिव्यक्ति र उत्सवका रूपमा ग्रहण गरिन्छ।


worldwidekhabar

गायक चेतन राईको नयाँ एल्बम “Speed” सार्वजनिक

0

विगत तीन दशक भन्दा लामो समयदेखि अनवरत रुपमा संगित क्षेत्रमा लागी रहनु भएका गायक तथा संगितकार चेतन राईले Speed नामक एल्बम पुतलीसडक स्थित ग्रीन ल्याण्ड क्याफेमा आज शनिबार सार्वजनिक गर्नु भएको थियो । साथै उक्त एल्बमको “हाँसी देउन” बोलको गीत समेत सार्वजनिक गर्नु भएको छ । कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, सन्तोष श्रेष्ठ, लोकराज अधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।


worldwidekhabar

लगानीकर्ताको दबाबपछि धितोपत्र बोर्डले १५ मिनेटको औसत गणना विधि स्थगित

0

काठमाडौं, २०८२ असोज ०४
धितोपत्र बजारमा १५ मिनेटको औसत मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा लिने व्यवस्था हट्ने भएको छ। धितोपत्र बोर्डले आज बसेको बैठकमार्फत उक्त प्रावधान तत्काल लागू नगर्ने निर्णय गरेको हो।

लगातार बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयासस्वरूप बोर्डले औसत मूल्य प्रणालीलाई हालका लागि स्थगित गरिएको बताएको छ। यसअघि यो व्यवस्था लागू भएपछि मूल्य निर्धारण कृत्रिम भएको र लगानीकर्ताको हित विपरीत असर परेको भन्दै चर्को आलोचना हुँदै आएको थियो।

बिहानैदेखि लगानीकर्ताहरू धितोपत्र बोर्डको कार्यालय अगाडि भेला भई विरोध जनाइरहेका थिए। उनीहरूको दबाबपछि बोर्डले आकस्मिक छलफल गरी तत्कालै औसत मूल्य विधि रोकेर बजारलाई पहिलेको जस्तै अन्तिम कारोबार मूल्यमै निर्भर हुने प्रणालीतर्फ फर्काउने घोषणा गरेको हो।

यसअघि विभिन्न लगानीकर्ता संघ–संगठनले सरकारलाई ज्ञापनपत्र बुझाउँदै धितोपत्र क्षेत्रमा सुधारका लागि ५ बुँदे माग अघि सारेका थिए। अर्थ मन्त्रालयलाई बुझाइएको उक्त ज्ञापनपत्रमा, धितोपत्र क्षेत्रमा पारदर्शिता र विश्वसनीयता कायम गर्न अनावश्यक Caps हटाउनुपर्ने, नियामक निकायहरूबीच समन्वय गर्नुपर्ने, स्टक एक्सचेन्ज र डिपोजिटरी प्रणाली सुधार गर्नुपर्ने, र दीगो सुधारका लागि ‘Omnibus Reforms’ कार्यान्वयन गर्नुपर्ने माग राखिएका थिए।

आजको निर्णयले लगानीकर्ताहरूको प्रमुख मागमध्ये एक — औसत गणना प्रणाली हटाउने — प्रत्यक्ष रूपमा सम्बोधन भएको छ।

आइतबारदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार अन्तिम कारोबार मूल्यलाई नै अन्तिम मूल्य मानिनेछ, जसले बजार सञ्चालन सहज हुने लगानीकर्ताहरूले आशा व्यक्त गरेका छन्।


worldwidekhabar

विद्रोहपछिको बजार : नेप्से ध्वस्त, लगानीकर्ता अझै अनिश्चिततामा

0

काठमाडौं, असोज ०२

हालैको Gen-Z आन्दोलनले नेपाललाई राजनीतिक मात्र होइन, आर्थिक रुपमा पनि हल्लाएको छ। करिब एक सातादेखि बन्द रहेर पुनः खुलेको शेयर बजार बिहीबार पूर्णरूपमा संकटग्रस्त देखियो। कारोबार सुरु भएको केही मिनेटमै लगातार तीनपटक सर्किट ब्रेक लागेर बजार १६० अंकले ओरालो लागी २५११.९१ आइपुग्दा लगानीकर्ताको मनोबल झनै कमजोर भएको छ।

विशेषज्ञहरूका अनुसार यो गिरावट केवल शेयर मूल्य घट्नु मात्र होइन, विश्वासको संकट हो। Gen-Z आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा ठूलो मात्रामा आगजनी, व्यावसायिक भवन ध्वस्त र सरकार परिवर्तनले लगानीकर्तामा “सुरक्षा ग्यारेन्टी छैन” भन्ने सन्देश पुगेको छ। धेरै व्यवसायी दशैं खर्च जुटाउन सेयर बेच्न बाध्य भएकोले गर्दा आज केही मिनेट खुलेको बजारमा समेत लगानीकर्ताहरु बेच्न सक्रिय हुँदा बजारमा अतिरिक्त दबाब ल्याएको छ।

आज सबैभन्दा घट्ने उप-सूचकमा व्यापार रहेको छ; ९.३४ अंक। पूँजीकरणका हिसाबले सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको विशाल बजार ९.५२ प्रतिशतले घट्दा यस समूहमा प्यानिक सिर्जना भएको छ । त्यसपछि गिरावट आएको उप-सूचकमा अन्य समूहको रहेको छ; ७.४८ प्रतिशत, होटल तथा पर्यटन उप-सूचक ७.२४ प्रतिशत, लगानी उप-सूचक ७.१८ प्रतिशत, जीवन बीमा उप-सूचक ६.६६ प्रतिशत, बैंक उप-सूचक ५.५२ प्रतिशत, निर्जिवन बीमा उप-सूचक ५.४२ प्रतिशत, हाइड्रोपावर उप-सूचक ५.४० प्रतिशत, विकास बैंक उप-सूचक ५.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन उप-सूचक ५.०२ प्रतिशत, फाइनान्स उप-सूचक ४.५२ प्रतिशत, लघुवित्त उप-सूचक ४.०८ प्रतिशत र म्यूचअल फण्ड उप-सूचक ०.३१ प्रतिशतले गिरावट भएको छ।

यद्यपि राजनीतिक संक्रमण, आगामी निर्वाचनको अनिश्चितता, र पुनर्निर्माणमा ढिलाइ भएमा बजार अझै अस्थिर रहन सक्ने अवस्था पनि देखिन्छ। हाललाई बिहीबारको घटना नेपालमा राजनीतिक संकट र वित्तीय बजारबीचको गहिरो सम्बन्धलाई छर्लङ्ग पार्ने एउटा उदाहरण बनेको छ।


worldwidekhabar

सृष्टि थापाको नयाँ गीत ‘टाढा भएनी’ सार्वजनिक(भिडियो)

0

काठमाडौं । नेपाली कला क्षेत्रमा उदयमान गायिका सृष्टि थापा भर्खरै मात्र टाढा भएनी भन्ने गीत सार्वजनिक गरेकी छिन्। उनी शास्त्रीय संगीतको सँगसँगै एमबिएका विद्यार्थी पनि हुन्। शास्त्रीय संगीत भने उनले चण्डी काफ्लेबाट सिकेकी हुन्।

लमजुङ घर भएकी उनले ३० वटा भन्दा बढी गीत गाइसकेकी छिन्। उनी आफूलाई हरेक खालका गीतहरू गाउन इच्छा राख्छिन्।

हाल सार्वजनिक गरिएको गीत “टाढा भएनी ” सेन्टिमेन्टल गीत रहेको छ। संगीतमा सागर सुनार , रचना भने सागर सुनार र गायिका स्वयंको रहेको छ l सोही म्युजिक भिडियोलाई निर्देशन टेक अछामीले गरेका हुन्, छायाङ्कन भने उमेश शाह र सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।

शेयर कारोबार असोज २ गतेबाट पुनः सञ्चालन हुने

0

काठमाडौं । करिब एक सातादेखि बन्द रहेको शेयर बजार आगामी बिहीबार (असोज २) बाट खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले कारोबार सुरु गर्ने तयारी गरेको हो।

जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि भदौ २४ देखि शेयर कारोबार बन्द गरिएको थियो। मिति २०८२/०५/२७ गते प्रकाशित सूचना बमोजिम दोश्रो बजार कारोबार मिति २०८२/०५/२७ देखि मिति २०८२/०६/०२ गते सम्म बन्द हुने भनिएता पनि आन्दोलन शान्त हुँदै गएपछि सेयर बजार खोल्ने दबाब बढेपछि सेबोनले बिहीबारदेखि कारोबार सुरु गर्ने निर्णय गरेको हो।


worldwidekhabar

सरकारद्वारा भोलि सार्वजनिक बिदा घोषणा, राष्ट्रिय शोक मनाइने ।

0

काठमाडौं, भाद्र ३१

नेपाल सरकारले भोलि २०८२ असोज ०१ गतेका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हालै भएको Gen-Z (१२ देखि २८ वर्षका उमेर समूह ) आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली स्वरूप सरकारले सार्वजनिक बिदा दिने र राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि सबै सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहनेछन्। साथै, राष्ट्रभरका सरकारी कार्यालय, निकाय र संस्थाहरूमा झण्डा आधा झुकाउने व्यवस्था गरिएको छ।

सरकारले शोक दिवसको अवसरमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै जनताको भावनासँग एकाकार हुने उद्देश्य राखेको जनाएको छ।


worldwidekhabar

“चाडपर्वमा राहत : पेट्रोलियम पदार्थको मूल्य यथावत्”

काठमाण्डौ, भाद्र ३१

नजिकिँदै गरेको दशैं–तिहारलाई लक्षित गर्दै र आन्दोलका कारण निम्त्याका आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको खुद्रा मूल्य यथावत् कायम राख्ने निर्णय गरेको छ। निगमले विज्ञप्तिमार्फत उपभोक्तामाथि मूल्यवृद्धिको थप चाप नपरोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि तत्काल समायोजन नगर्ने स्पष्ट पारेको छ।

निगमका अनुसार भारतको इण्डियन आयल कर्पोरेशनबाट आयात हुने पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसा मूल्यवृद्धि भएको छ। तर, उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै उक्त भारलाई निगमले आफैं व्यहोर्ने निर्णय गरेको हो। यसले चाडपर्वमा यातायात, व्यापार र आम नागरिकको दैनिक खर्चमा राहत दिने अपेक्षा गरिएको छ।

यद्यपि निगमले अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दो मूल्यका कारण निकट भविष्यमा पुनरावलोकन र समायोजन अपरिहार्य हुने सम्भावना रहेको पनि जनाएको छ। उपभोक्तामाथि तत्काल राहत दिन गरिएको यो निर्णय दीर्घकालीन टिकाउ हुने नहुने भन्ने विषयमा भने प्रश्न उठ्ने गरेको छ, किनकि निगम स्वयं आर्थिक घाटामा परेको अवस्था सार्वजनिक गरिँदै आएको छ।


worldwidekhabar

“दशैं–तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा”

0

काठमाण्डौ- भाद्र ३०

सरकारले आगामी बडादशैंलाई लक्षित गर्दै सुपथ मूल्य पसलहरू आजदेखि सञ्चालनमा ल्याएको छ। यस पहलअन्तर्गत उपभोक्ताहरूले दैनिक आवश्यक पर्ने चामल, चिनी, दाल, खानेतेल, नुन, आलु, प्याज लगायतका विभिन्न खाद्य तथा उपभोग्य सामग्रीहरू सामान्य बजारभन्दा कम मूल्यमा किन्न सक्नेछन्। यो कदम विशेषगरी मध्यम वर्ग र आर्थिक रूपमा कमजोर परिवारहरूको आर्थिक भार घटाउने उद्देश्यले लिइएको हो। सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएपछि उपभोक्ताहरूले गुणस्तरीय सामग्रीहरू किफायती मूल्यमा सहजै पहुँच पाउने अवसर पाउनेछन्।

काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानका बिक्री केन्द्रहरूसहित तीन वटा घुम्ती पसलसमेत राखी कुल ३५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ। त्यस्तै, देशभरका विभिन्न प्रमुख शहर र जिल्लामा कुल ४८ स्थानमा सुपथ मूल्य पसल संचालनमा ल्याइनेछ। यस पहलमार्फत सरकारले उपभोक्तालाई सस्तो, गुणस्तरीय र भरपर्दो सामानको सुनिश्चितता दिन खोजेको छ। यस्तो कदमले विशेष गरी चाडपर्वको समयमा मूल्य नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


worldwidekhabar

लिला तिवारी पौडेलले जितिन् मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज

0

मिसेस नेपाल अष्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अष्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो। प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जितिन्। ताजसँगै उनले “एलीगेन्ट वाक” उपाधि, १,००० अष्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पारिन्, जसले “कन्फिडेन्स” (आत्मविश्वास) पुरस्कार समेत जितिन्।

उनले ६०० अष्ट्रेलियन डलर नगद, ३०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। दोस्रो रनर–अप आश्मा (एश) चालिसे घोषित भइन्, जसले “ग्रेसफुल डीभा” (शालीन सुन्दरी) उपाधि जितिन्। उनलाई ४०० अष्ट्रेलियन डलर, २०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र अन्य उपहारहरू प्रदान गरियो। विजेता लिला तिवारी पौडेल बुटवल, नेपालकी रहिवासी हुन् र हाल मेलबर्न, भिक्टोरियाको मिकलह्याममा बसोबास गर्छिन्। उनी पेशाले नर्स हुन् र आफ्नो पेशाप्रति गहिरो रुचि राख्छिन्। पेशागत जीवन बाहेक उनी यात्रा गर्न मन पराउँछिन्।

यस प्रतियोगिताको पहिलो संस्करणमा अष्ट्रेलियामा बसोबास गर्ने चौध जना नेपाली विवाहित महिलाहरूले सहभागिता जनाएका थिए। यो मात्र सौन्दर्य प्रतियोगिता नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृति, परम्परा र प्रतिभाको उत्सव पनि थियो। प्रतियोगीहरूलाई विभिन्न उपाधिहरू मार्फत् उनीहरूको उत्कृष्टतालाई सम्मान गरिएको थियो। आकृति सापकोटाले बोल्ड एण्ड ब्युटी, आरती सिंहले इन्टेलेक्चुअल, जमुना अधिकारी रिजालले कन्जेनियलिटी, निवा प्रजापति साहुखलले सोशल इम्प्याक्ट एण्ड एलिगेन्ट पर्सनालिटी, सन्ध्या भट्टराईले हर्ट अफ गोल्ड, जस्मिन चौलागाईं ढकालले मिसेस पोइज, अनुजा मल्ल ढकालले ट्यालेन्ट, विद्या पनेरूले डिसिप्लिन, रश्मी अधिकारीले फोटोजेनिक, दीपा खनालले बेस्ट एटिच्युड र सरस्वती श्रेष्ठले फेसनिष्टा उपाधि हासिल गरेका छन् कार्यक्रमलाई नेपालका फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले मार्गदर्शन, कोरियोग्राफी साथै कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

यस प्रतियोगितालाई हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाले आयोजना गरेको हो। कार्यक्रमलाई मिरेकल माइग्रेशन एण्ड एजुकेशनले प्रस्तुत गरेको थियो भने ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेशनले पावरबाई गरेको थियो। सौन्दर्य र ग्ल्यामरसँगै यस प्रतियोगिताले विवाहित नेपाली महिलाहरूलाई नेतृत्व, संचार क्षमता र व्यक्तिगत विकासमा प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो। साथै यसले नेपालका संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने महत्वाकांक्षा बोकेको थियो। कार्यक्रमलाई सिजन मिडियाले व्यवस्थापन गरेको थियो।

निर्णायक मण्डलमा चर्चित कलाकार तथा मोडल प्रकृति श्रेष्ठ, मिस नेपाल अर्थ २०११ अनुपमा अरा गुरुङ, एथ्रीके सोलुसनका एमडी विनोद कुवर, मिरेकल माइग्रेशन एण्ड एजुकेशनका निर्देशक सागर शाही, तथा ग्रेस इन्टरनेशनलका निर्देशक प्रकाश रेग्मी समावेश थिए। कार्यक्रमलाई अझ गौरवमयी बनाउन अष्ट्रेलियामा भिक्टोरियाका लागि नेपालका मानार्थ वाणिज्यदूत निराजन गौली मुख्य अतिथिका रूपमा उपस्थित भएका थिए। मिसेस नेपाल अष्ट्रेलिया २०२५ साँचिकै एक ऐतिहासिक उपलब्धि सावित भएको छ। यसले विवाहित नेपाली महिलाहरूको क्षमता, आत्मविश्वास र सौन्दर्यलाई मात्र होइन, उनीहरूको संस्कृति र पहिचानलाई सम्मानका साथ विश्वभर उजागर गर्ने अवसर प्रदान गर्‍यो।