Tuesday, January 13, 2026

शेयर कारोबार असोज २ गतेबाट पुनः सञ्चालन हुने

0

काठमाडौं । करिब एक सातादेखि बन्द रहेको शेयर बजार आगामी बिहीबार (असोज २) बाट खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले कारोबार सुरु गर्ने तयारी गरेको हो।

जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि भदौ २४ देखि शेयर कारोबार बन्द गरिएको थियो। मिति २०८२/०५/२७ गते प्रकाशित सूचना बमोजिम दोश्रो बजार कारोबार मिति २०८२/०५/२७ देखि मिति २०८२/०६/०२ गते सम्म बन्द हुने भनिएता पनि आन्दोलन शान्त हुँदै गएपछि सेयर बजार खोल्ने दबाब बढेपछि सेबोनले बिहीबारदेखि कारोबार सुरु गर्ने निर्णय गरेको हो।


worldwidekhabar

सरकारद्वारा भोलि सार्वजनिक बिदा घोषणा, राष्ट्रिय शोक मनाइने ।

0

काठमाडौं, भाद्र ३१

नेपाल सरकारले भोलि २०८२ असोज ०१ गतेका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हालै भएको Gen-Z (१२ देखि २८ वर्षका उमेर समूह ) आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली स्वरूप सरकारले सार्वजनिक बिदा दिने र राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि सबै सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहनेछन्। साथै, राष्ट्रभरका सरकारी कार्यालय, निकाय र संस्थाहरूमा झण्डा आधा झुकाउने व्यवस्था गरिएको छ।

सरकारले शोक दिवसको अवसरमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै जनताको भावनासँग एकाकार हुने उद्देश्य राखेको जनाएको छ।


worldwidekhabar

“चाडपर्वमा राहत : पेट्रोलियम पदार्थको मूल्य यथावत्”

काठमाण्डौ, भाद्र ३१

नजिकिँदै गरेको दशैं–तिहारलाई लक्षित गर्दै र आन्दोलका कारण निम्त्याका आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको खुद्रा मूल्य यथावत् कायम राख्ने निर्णय गरेको छ। निगमले विज्ञप्तिमार्फत उपभोक्तामाथि मूल्यवृद्धिको थप चाप नपरोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि तत्काल समायोजन नगर्ने स्पष्ट पारेको छ।

निगमका अनुसार भारतको इण्डियन आयल कर्पोरेशनबाट आयात हुने पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसा मूल्यवृद्धि भएको छ। तर, उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै उक्त भारलाई निगमले आफैं व्यहोर्ने निर्णय गरेको हो। यसले चाडपर्वमा यातायात, व्यापार र आम नागरिकको दैनिक खर्चमा राहत दिने अपेक्षा गरिएको छ।

यद्यपि निगमले अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दो मूल्यका कारण निकट भविष्यमा पुनरावलोकन र समायोजन अपरिहार्य हुने सम्भावना रहेको पनि जनाएको छ। उपभोक्तामाथि तत्काल राहत दिन गरिएको यो निर्णय दीर्घकालीन टिकाउ हुने नहुने भन्ने विषयमा भने प्रश्न उठ्ने गरेको छ, किनकि निगम स्वयं आर्थिक घाटामा परेको अवस्था सार्वजनिक गरिँदै आएको छ।


worldwidekhabar

“दशैं–तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा”

0

काठमाण्डौ- भाद्र ३०

सरकारले आगामी बडादशैंलाई लक्षित गर्दै सुपथ मूल्य पसलहरू आजदेखि सञ्चालनमा ल्याएको छ। यस पहलअन्तर्गत उपभोक्ताहरूले दैनिक आवश्यक पर्ने चामल, चिनी, दाल, खानेतेल, नुन, आलु, प्याज लगायतका विभिन्न खाद्य तथा उपभोग्य सामग्रीहरू सामान्य बजारभन्दा कम मूल्यमा किन्न सक्नेछन्। यो कदम विशेषगरी मध्यम वर्ग र आर्थिक रूपमा कमजोर परिवारहरूको आर्थिक भार घटाउने उद्देश्यले लिइएको हो। सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएपछि उपभोक्ताहरूले गुणस्तरीय सामग्रीहरू किफायती मूल्यमा सहजै पहुँच पाउने अवसर पाउनेछन्।

काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानका बिक्री केन्द्रहरूसहित तीन वटा घुम्ती पसलसमेत राखी कुल ३५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ। त्यस्तै, देशभरका विभिन्न प्रमुख शहर र जिल्लामा कुल ४८ स्थानमा सुपथ मूल्य पसल संचालनमा ल्याइनेछ। यस पहलमार्फत सरकारले उपभोक्तालाई सस्तो, गुणस्तरीय र भरपर्दो सामानको सुनिश्चितता दिन खोजेको छ। यस्तो कदमले विशेष गरी चाडपर्वको समयमा मूल्य नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


worldwidekhabar

लिला तिवारी पौडेलले जितिन् मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज

0

मिसेस नेपाल अष्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अष्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो। प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जितिन्। ताजसँगै उनले “एलीगेन्ट वाक” उपाधि, १,००० अष्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पारिन्, जसले “कन्फिडेन्स” (आत्मविश्वास) पुरस्कार समेत जितिन्।

उनले ६०० अष्ट्रेलियन डलर नगद, ३०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। दोस्रो रनर–अप आश्मा (एश) चालिसे घोषित भइन्, जसले “ग्रेसफुल डीभा” (शालीन सुन्दरी) उपाधि जितिन्। उनलाई ४०० अष्ट्रेलियन डलर, २०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र अन्य उपहारहरू प्रदान गरियो। विजेता लिला तिवारी पौडेल बुटवल, नेपालकी रहिवासी हुन् र हाल मेलबर्न, भिक्टोरियाको मिकलह्याममा बसोबास गर्छिन्। उनी पेशाले नर्स हुन् र आफ्नो पेशाप्रति गहिरो रुचि राख्छिन्। पेशागत जीवन बाहेक उनी यात्रा गर्न मन पराउँछिन्।

यस प्रतियोगिताको पहिलो संस्करणमा अष्ट्रेलियामा बसोबास गर्ने चौध जना नेपाली विवाहित महिलाहरूले सहभागिता जनाएका थिए। यो मात्र सौन्दर्य प्रतियोगिता नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृति, परम्परा र प्रतिभाको उत्सव पनि थियो। प्रतियोगीहरूलाई विभिन्न उपाधिहरू मार्फत् उनीहरूको उत्कृष्टतालाई सम्मान गरिएको थियो। आकृति सापकोटाले बोल्ड एण्ड ब्युटी, आरती सिंहले इन्टेलेक्चुअल, जमुना अधिकारी रिजालले कन्जेनियलिटी, निवा प्रजापति साहुखलले सोशल इम्प्याक्ट एण्ड एलिगेन्ट पर्सनालिटी, सन्ध्या भट्टराईले हर्ट अफ गोल्ड, जस्मिन चौलागाईं ढकालले मिसेस पोइज, अनुजा मल्ल ढकालले ट्यालेन्ट, विद्या पनेरूले डिसिप्लिन, रश्मी अधिकारीले फोटोजेनिक, दीपा खनालले बेस्ट एटिच्युड र सरस्वती श्रेष्ठले फेसनिष्टा उपाधि हासिल गरेका छन् कार्यक्रमलाई नेपालका फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले मार्गदर्शन, कोरियोग्राफी साथै कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

यस प्रतियोगितालाई हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाले आयोजना गरेको हो। कार्यक्रमलाई मिरेकल माइग्रेशन एण्ड एजुकेशनले प्रस्तुत गरेको थियो भने ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेशनले पावरबाई गरेको थियो। सौन्दर्य र ग्ल्यामरसँगै यस प्रतियोगिताले विवाहित नेपाली महिलाहरूलाई नेतृत्व, संचार क्षमता र व्यक्तिगत विकासमा प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो। साथै यसले नेपालका संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने महत्वाकांक्षा बोकेको थियो। कार्यक्रमलाई सिजन मिडियाले व्यवस्थापन गरेको थियो।

निर्णायक मण्डलमा चर्चित कलाकार तथा मोडल प्रकृति श्रेष्ठ, मिस नेपाल अर्थ २०११ अनुपमा अरा गुरुङ, एथ्रीके सोलुसनका एमडी विनोद कुवर, मिरेकल माइग्रेशन एण्ड एजुकेशनका निर्देशक सागर शाही, तथा ग्रेस इन्टरनेशनलका निर्देशक प्रकाश रेग्मी समावेश थिए। कार्यक्रमलाई अझ गौरवमयी बनाउन अष्ट्रेलियामा भिक्टोरियाका लागि नेपालका मानार्थ वाणिज्यदूत निराजन गौली मुख्य अतिथिका रूपमा उपस्थित भएका थिए। मिसेस नेपाल अष्ट्रेलिया २०२५ साँचिकै एक ऐतिहासिक उपलब्धि सावित भएको छ। यसले विवाहित नेपाली महिलाहरूको क्षमता, आत्मविश्वास र सौन्दर्यलाई मात्र होइन, उनीहरूको संस्कृति र पहिचानलाई सम्मानका साथ विश्वभर उजागर गर्ने अवसर प्रदान गर्‍यो।

समिर लामाः देशको सूचना व्यवस्थापनमा नयाँ नेतृत्वको अपेक्षा

0

काठमाडौं । मुलुक आज जटिल र विषम परिस्थितिबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता, सामाजिक असन्तुलन, आर्थिक चुनौती र प्रविधि–सूचना व्यवस्थापनको अव्यवस्था देशलाई थप अनिश्चिततामा धकेलिरहेको छ । यस्तै अवस्थामा, जनता स्थिरता, सुशासन र पारदर्शिता खोजिरहेका छन् । प्रधानमन्त्री सुशिला कार्कीप्रति आम नागरिकको विश्वास बढ्नु त्यसैकारण हो । उहाँको दृढ स्वभाव, निष्पक्ष दृष्टिकोण र इमानदार छविले मुलुकलाई संकट पार गर्ने बलियो आधार प्रदान गरेको छ । तर प्रश्न उठ्छ..के मात्र प्रधानमन्त्रीको दृढ नेतृत्व पर्याप्त छ? स्पष्ट उत्तर हो ….होईन । यसका लागि दक्ष, लोकप्रिय र अनुभवी व्यक्तित्वहरूको सहकार्य अपरिहार्य हुन्छ ।

आजको युग सूचना र प्रविधिको हो । तर विडम्बना, मुलुकमा सूचना व्यवस्थापन अझै स्पष्ट, व्यवस्थित र जनमुखी बन्न सकेको छैन । भ्रामक प्रचार, तथ्यहीन समाचार र अव्यवस्थित डिजिटल प्रयोगले जनमानसमा नकारात्मक असर पारिरहेको छ । मुलुकको विकास र लोकतन्त्रलाई सुदृढ बनाउन सत्य–तथ्य सूचनाको प्रवाह अपरिहार्य छ । तर यसका लागि योग्य नेतृत्वको खाँचो तीव्र छ ।

समिर लामाको योगदान

यस्तै घडीमा कार्यक्रम व्यवस्थापन संघ, नेपालले संचार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वका लागि  समिर लामाको नाम औपचारिक रूपमा सिफारिस गरेको छ । लामो समयदेखि संचार सेवा क्षेत्रमा सक्रिय रहँदै आएका लामा ईभेन्ट व्यवस्थापन, संचारकर्म र सामाजिक सेवामा स्थापित व्यक्तित्व हुन् । सत्य–तथ्य सूचना सम्प्रेषणमा उहाँले निर्वाह गरेको प्रखर भूमिका सर्वमान्य छ ।

लामा केवल एक संचारकर्मी मात्र होइनन्, समाजका दिनदुखी जनताको हितका लागि अग्रसर सेवक पनि हुन् । सामान्य अवस्थामा होस् वा आपत्–विपत्को घडीमा, उहाँले देखाएको सक्रियता र योगदानले उहाँलाई युवामाझ लोकप्रिय मात्र होइन, प्रेरणादायी व्यक्तित्वका रूपमा पनि स्थापित गरेको छ ।

लामालाई विशेष बनाउने अर्को पक्ष भनेको उहाँको अडिग स्वभाव र बहादुरी हो । जेनजी पुस्तामाझ उहाँलाई एक दृढ संकल्प बोकेका, देशप्रति पूर्ण समर्पित र वफादार व्यक्तित्वका रूपमा हेर्ने गरिएको छ । हरेक अवस्थामा देशलाई प्राथमिकतामा राख्ने उहाँको कार्यशैलीले उहाँलाई केवल संचारकर्मी होइन, राष्ट्रिय स्तरको सम्भावित नेतृत्वका रूपमा चित्रण गरेको छ ।

किन अहिले आवश्यक ?

देश संकटग्रस्त अवस्थामा छ । डिजिटलाइजेसन र प्रविधि–सूचना व्यवस्थापनलाई अब ढिला नगरी प्राथमिकतामा राख्नैपर्छ । यसका लागि केवल राजनीतिक हैसियत पुग्नु पर्याप्त हुँदैन, व्यावसायिक दक्षता, व्यवहारिक अनुभव र सामाजिक लोकप्रियता पनि आवश्यक हुन्छ । समिर लामा यिनै गुणहरूको संयोजन भएको व्यक्तित्व हुन् ।

कार्यक्रम व्यवस्थापन संघले प्रस्तुत गरेको सिफारिसले के प्रष्ट्याउँछ भने, आज देशले सक्षम हात चाहेको छ । सूचना प्रवाहलाई सही, तथ्यपरक र जिम्मेवार बनाउन लामाको योगदान अपरिहार्य हुनेछ । उहाँलाई संचार मन्त्रालयको जिम्मेवारी दिनु केवल राजनीतिक नियुक्ति मात्र हुने छैन, यो मुलुकको सूचना व्यवस्थापनलाई सुधार्ने ऐतिहासिक निर्णय सावित हुनेछ ।

प्रधानमन्त्री सुशिला कार्की मुलुकलाई कठोर परिस्थितिबाट पार लगाउने दृढ नेतृत्वका रूपमा उभिएकी छन् । उहाँको स्वच्छ छवि, अडिग स्वभाव र निष्पक्ष दृष्टिकोणले नागरिकलाई विश्वास दिलाएको छ—देश सुरक्षित हातमा छ । तर मुलुकलाई अझ मजबुत बनाउन उहाँसँगै समिर लामाजस्ता लोकप्रिय र दक्ष व्यक्तित्वहरूको सक्रिय सहभागिता अपरिहार्य छ ।

देशलाई सक्षम हातमा सुरक्षित गर्न, सूचना प्रवाहलाई विश्वसनीय बनाउन र जनअपेक्षाको सम्बोधन गर्न आज निर्णयात्मक कदम चालिनैपर्छ । समिर लामालाई जिम्मेवारी प्रदान गर्नु मुलुकलाई स्थिरता र विकासको दिशामा अघि बढाउने दूरदर्शी निर्णय बन्नेछ ।

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार: कानुन, अर्थ र ऊर्जामा नयाँ टोली

0

काठमाण्डौ, भाद्र ३०, २०८२- अहिले ११:३० बजे राष्ट्रपति कार्यालयमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूले सपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले कार्यक्रम तय भएको जानकारी दिएको छ।

अन्तरिम सरकारमा अहिलेसम्म तीन मन्त्रीको नाम पक्का भएको छ।

ओमप्रकाश अर्याल : गृह तथा कानुन मन्त्री

रामेश्वर खनाल : अर्थ मन्त्री

कुलमान घिसिङ : ऊर्जा मन्त्री

ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालय दिनु कानुनी सुधार र पारदर्शितातर्फ सरकारको संकेत मान्न सकिन्छ। उनी भ्रष्टाचारविरुद्धको मुद्दामा सक्रिय भएकाले सरकारको प्राथमिकता सुशासन भन्ने देखिन्छ।

रामेश्वर खनालले अघिल्लो अनुभव र विस्तृत प्रतिवेदनमार्फत तत्कालीन आर्थिक संकट समाधानका उपाय देखाएका थिए। उनको नियुक्ति आर्थिक स्थिरता र संरचनागत सुधार मा जोड दिनेसँग जोडिन्छ।

कुलमान घिसिङ लोडसेडिङ अन्त्य गरेर जनताबीच लोकप्रिय भइसकेका व्यक्ति हुन्। ऊर्जा मन्त्रालयमा उनको फिर्ती ऊर्जा सुरक्षामा जनअपेक्षा उच्च रहेको संकेत हो।

यसरी कानुन, अर्थ र ऊर्जा क्षेत्रमा अनुभव र जनविश्वास बटुलेका व्यक्तिहरूको समावेशीसँगै सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार औपचारिक रूपमा प्रारम्भ हुन लागेको छ।


worldwidekhabar

काठमाडौंमा बन्दपछि सडकमा चाप, यात्रुहरू मर्कामा

0

काठमाडौं, १४ सेप्टेम्बर २०२५ – जेन्जी आन्दोलनका कारण भाद्र २३ र २४ गते लागू गरिएको करफ्यू र निषेधाज्ञा हटेपछि राजधानीको दैनिक जीवन क्रमशः सामान्यतर्फ फर्किंदै छ। तर, लामो समयसम्म सार्वजनिक र निजी यातायात अवरुद्ध भएपछि आज बिहानदेखि सडकमा अत्यधिक चाप देखिएको छ। कार्यालय, विद्यालय र व्यवसायिक प्रतिष्ठानहरू खुलेसँगै सवारीसाधनको अचानक बढेको भीडले काठमाडौंको सडक नेटवर्क अस्तव्यस्त बनेको छ। विशेषगरी बौद्ध–जोरपाटी, नयाँबानेश्वर, कलंकी र चाबहिल क्षेत्र वरिपरि लामो ट्राफिक जामले यात्रुहरूलाई ठूलो मर्का पारेको छ।

यातायातको चाप व्यवस्थापन गर्न पर्याप्त संख्यामा ट्राफिक प्रहरी देखिन नसक्दा अवस्था झन् जटिल भएको यात्रुहरूको गुनासो छ। मोटरसाइकल, निजी कार, माइक्रोबस र सार्वजनिक बसहरूले लेन मिच्ने, नियम विपरीत ओभरटेक गर्ने र यत्रतत्र पार्किङ गर्ने जस्ता गतिविधिले सडकलाई अझै अव्यवस्थित बनाएको छ। छिटो पुग्नुपर्ने यात्रुहरू सानो दूरी पार गर्न समेत लामो समय जाममा अड्किन बाध्य भएका छन्। यसले कार्यालय समयमा ढिलाइ, विद्यार्थीहरूलाई विद्यालय पुग्न कठिनाइ र दैनिक श्रमिकहरूलाई समेत समयमै कामस्थल पुग्न समस्या ल्याएको छ।

“Gen Z आन्दोलनपछिको राहत: निषेधाज्ञा हटाइयो, जनजीवन सामान्यतर्फ”

0

नेपालमा पाँच दिनदेखि जारी कर्फ्यु र निषेधाज्ञा अन्ततः हटाइएको छ। “Gen Z” आन्दोलनका क्रममा भएका हिंसात्मक प्रदर्शन र तोडफोडलाई नियन्त्रण गर्न लागू गरिएको कर्फ्यु हटाइएसँगै काठमाडौंसहितका क्षेत्रहरूमा जनजीवन सामान्यतर्फ फर्किन थालेको छ।

बजार, पसल र यातायात क्रमशः सञ्चालनमा आउन थालेका छन् भने सडकमा भीडभाड पनि बढ्न थालेको छ। सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको विरोध, संसद्मा आगजनी र ठूलो जनआक्रोशपछि लागू गरिएको यो कडा सुरक्षा व्यवस्था हट्नु सकारात्मक कदमका रूपमा हेरिएको छ।

“अस्थिरताको बीचमा नयाँ आशा—अन्तरिम सरकार र आगामी निर्वाचन ”

0

नेपालको राजनीतिक परिदृश्य फेरि एक पटक ठूलो मोडमा पुगेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गर्ने निर्णय गर्दै नयाँ प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेका छन्। अब देशभरि आगामी फागुन २१, २०८२ (मार्च ५, २०२६) मा आमनिर्वाचन हुने भएको छ। लामो समयदेखि राजनीतिक अस्थिरता र जनआक्रोश बढ्दै गएको अवस्थामा आएको यो निर्णयलाई देशको भविष्य तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ।

यसैबीच, पूर्व सर्वोच्च प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। उनी नेपालको इतिहासकै पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। न्यायपालिकामा रहँदा उनले भ्रष्टाचारविरुद्ध कठोर निर्णयहरू दिएकी थिइन् र निष्पक्ष व्यक्तित्वका रूपमा चिनिएकी छन्। त्यसैले, राजनीतिक अविश्वास र प्रदर्शनबीच कार्कीको नियुक्तिलाई धेरैले समाधान खोज्ने प्रयासका रूपमा लिएका छन्।

गत भाद्र २३ र २४ गते युवा पुस्ताद्वारा नेतृत्व गरिएको “Gen Z आन्दोलन” व्यापक बनेको थियो। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उठेका विरोधहरूले देशभरि असन्तोष फैलिएको थियो। प्रदर्शनका क्रममा हाल सम्म ५१ जनाले ज्यान गुमाए, १३ सय भन्दा बढी घाइते भए, जसले सरकारप्रति अझै ठूलो असन्तुष्टि निम्त्यायो। यिनै दबाबबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अन्तरिम सरकार गठन गरिएको हो।

अबको मुख्य चुनौती आगामी निर्वाचनलाई निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने हुनेछ। अन्तरिम सरकारलाई व्यवस्था पुनःस्थापना, आक्रोशित जनतालाई सम्बोधन गर्ने र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउनुपर्ने दबाब छ। राजनीतिक स्थिरतासहित देशको भविष्य तय गर्ने यो चुनावलाई सबैको ध्यानपूर्वक हेरिएको छ।