Saturday, January 18, 2025

कोरोना अपडेट : थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८० कोरोना संक्रमित बढेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिएका हुन् ।

देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा झापा, सुनसरी, पाँचथर रौतहट, पर्सा, गोरखा, नवलपरासी, अछाम, बैतडी, डोटी, कञ्चनपुर कैलाली, वाँके, बर्दिया, सप्तरी, नवलपरासी पूर्व, अर्घाखाँची, रुपन्देही, दैलेख, सुर्खेत, धनुषा, रामेछाप, सल्यान, दाङ, काठमाडौ, महोत्तरी, मोरङ रोल्पा सर्लाहीमा थप ३८० कोरोना संक्रमित थपिएका हुन् । यससँगै संक्रमितको संख्या ६हजार ५ सय ९१ जना संक्रमित पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

सरकारले हालसम्म पीसीआर विधिबाट एक लाख ४३ हजार ७ ३८ र आरडीडीटीबाट २ लाख २३ हजार ५१९ जनको परीक्षण गरेको जनाएको छ ।

दूधको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि

बागलुङमा दूधको मूल्य वृद्धि भएको छ। बागलुङ दुग्ध व्यवसायी संघले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँका दरले वृद्धि गरेको हो।

यसअघि दुधको खुद्रा मूल्य प्रतिलिटर ८० रुपैयाँ थियो। २० रुपैयाँ बृद्धि भएपछि अब दुधको मूल्य प्रतिलिटर एक सय रुपैयाँ पर्ने भएको छ।

संघले दूधको मूल्यवृद्धिसँगै दुग्धजन्य पदार्थको समेत मूल्य समायोजन गरेको बागलुङ दुग्ध व्यवसायी संघका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए।

वर्तमान समयमा पशु आहार तथा पशुपालन व्यवसायमा संलग्न सामग्रीको मूल्यमा भएको वृद्धि तथा नेपाल सरकारको दूधमा गरेको मूल्य समायोजनअनुसार बागलुङमासमेत दूध तथा दूधजन्य पदार्थको मूल्यमा वृद्धि गरिएको क्षत्रीले बताए।

विसं २०७२ चैत १ गतेपछि दुधजन्य पदार्थमा कुनै पनि मूल्य समायोजन नभएको भन्दै किसानले दुधको मूल्य बढाउन माग गर्दै आएका थिए।

यही असार १ गतेदेखि लागू हुने गरी दूध प्रतिलिटर एक सय दही प्रतिलिटर १२०, पनिर ८००, घ्यू प्रतिकेजी एक हजार ३००, खुवा प्रतिकेजी एक हजार २००, छुर्पी एक हजार, लस्सी २०० मिलीलिटरको ५०, आइक्रिम प्रतिकोन ४० र नौनी एक हजार कायम गरिएको छ।

‘लामो समयदेखि मूल्यवृद्धि हुन नस्कनु र किसानलाई दूध उत्पादनमा लागत बढ्दै जाँदा दूधको मूल्यमा वृद्धि गर्न परेको हो’, अध्यक्ष क्षेत्रीले भने, ‘किसानलाई मर्का पर्ने अवस्था आएपछि लामो समयपछि दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि गरेका हौं।’

दूग्ध व्यवसायी मर्कामा परेको गुनासो आएपछि सरोकारवालासँगको छलफलका आधारमा नै मूल्य समायोजन गरिएको दुग्ध व्यवसायी संघका सचिव मुक्तिराम आचार्यले बताए। एकैपटक दूधमा प्रतिलिटर २० मूल्यवृद्धि गर्दा मर्का पर्ने गुनासो उपभोक्ताले गरेका छन्।

नेपाल टेलिकमले असार ७ सम्म विलम्ब शुल्क नलिने

कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ।

कम्पनीका सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतेदेखि यस्ता महशुलमा नियमानुसार विलम्ब शुल्क लागू हुने जनाएको छ।

यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागू हुनेछ।

नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टे अफर भने कायमै रहने जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७४ वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७ सय ६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो।

ती स्थानहरुलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरुमा २०७६ चैत २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुने गरी पुनः २ महिना निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ।

यसैगरी कम्पनीले एफटीटीएच सेवाको मर्मतसम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट सुरु गरेको छ।

भारत हिँडेकी सरिता गिरीलाई प्रहरीले सीमाबाटै फर्कायो

भारत जान लागेकी जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई प्रहरीले फर्काइदिएको छ।

सिरहाको ठाडी नाकाबाट मंगलबार भारततर्फ जान लागेकी सांसद गिरीलाई त्यहाँबाट जान नदिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदी बताए।

‘उहाँलाई भारत नै नजानु भनेका होइनौं, भारत सरकारले अनुमति नदिएका नाकाबाट जान मिल्दैन भनेर रोकेका हौं’, एसपी चतुर्वेदीले भने, ‘उहाँ अनुमति भएका अन्य नाकाबाट भारत जान सक्नुहुन्छ।’

भारतले बिहार प्रवेशका लागि जोगवनी वा रक्सौल नाका खुला गरेको छ। तर, उनी अनुमति नभएको नाकाबाट भारत जान खोजेपछि नेपाल प्रहरीले रोकेको हो।

सांसद गिरी पछिल्लो समय नेपालले ल्याएको नयाँ नक्साप्रति फरक मत राखेपछि विवादमा आएकी थिइन्।

भारत माइती भएकी गिरीले नेपालले भारतलाई नसोधी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको र सो क्षेत्र नेपालको नभएको बताउँदै आएकी थिइन्।

उनले आफ्नै पार्टी निर्देशन विपरीत सरकारको संशोधन प्रस्तावविरुद्ध अर्को संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्।संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन्।

पार्टीको ह्विप समेत नमानेपछि अहिले उनलाई जनता समाजवादी पार्टीले पार्टी र सांसदबाट कारबाही गर्ने तयारी गरिरहेको छ।

निशान छापमा नेपालको नयाँ नक्सा रख्ने संविधान संशोधन विधेयक पारित भएपछि पनि उनी भारतीय मिडियामा नेपाल सरकारले गलत गरेको प्रतिक्रिया दिँदै आएकी थिइन्।

पार्टीले पार्टी कमिटी र सांसदबाट समेत कारबाही गर्ने तयारी गरिरहेका बेला उनी भारत जान थाल्नुलाई चासोका साथ हेरिएको छ।

४५ वर्षपछि चीन-भारत सीमामा हिंसक झडप

काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् ।

मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् ।

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।

सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो ।

तर सोमबार राति गोली हानाहान भएको छ ।

भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा १० हजार बढी नयाँ संक्रमित, ३८० को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ६७ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने एकैदिन देशभरी ३ सय ८० को मृत्यु भएको छ ।

यसका साथै देशभरी कोरोनाका कूल ३ लाख ४३ हजार ९१ संक्रमित छन्, तीमध्ये १ लाख ५३ हजार १ सय ७८ सक्रिय संक्रमित छन् । जबकी १ लाख ८० हजार १३ बिरामी उपचारपछि निको भएका छन् ।

कोरोनाका कारण भारतमा ९ हजार ९ सय को मृत्यु भइसकेको छ ।

काठमाडौँ उपत्यकामा होम डेलिभरी गर्ने तयारी

0

बन्दाबन्दीमा चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ ।

बन्दाबन्दी अवधिमा उपभोक्तासँग उपत्यकाभित्र डेलिभरी चार्ज नलिनका लागि निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

“शुरुआती चरणमा चक्रपथभित्र मात्र डेलिभरी शुरु गरिएको थियो, सबै आन्तरिक तयारी पूरा गरेर उपत्यका भित्र विस्तारको योजना बनाइएको हो”, उनले भने ।

चक्रपथभन्दा पाँच किलोमिटर बाहिरसम्म एकदुई दिनभित्र अनलाइन डेलिभरी शुरु गर्ने तयारी गरिएको तथा अन्य स्थानमा विस्तारै गर्दै जाने जनाइएको छ । यसैगरी चक्रपथ बाहिर डेलिभरी शुरु गर्दा जडिबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा स्यानिटाइजरसमेत अनलाइन बिक्रीमा राख्ने तयारी भएको सुवेदीले जानकारी दिए ।

चार सय डेलिभरी
लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ ।

चैत २६ देखि जेठ ३० गतेसम्म चक्रपथभित्रबाट ४१८ अनलाइन अर्डर आएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जनाकारी दिए । उनका अनुसार अनलाइन डेलिभरीवाट रु १३ लाख ४३ हजार ७६५ बराबरको खाद्य पदार्थ बिक्री भएको छ । सोमध्ये २०५ क्विन्टल चामल, दश क्विन्टल कर्णालीको सिमी, ६ क्विन्टल दाल, दुई क्विन्टल केराउ र ३९ लिटर घिउ बिक्री गरिएको छ ।

हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण हुँदै आएको छ । कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्री वितरण गर्दै आएको छ । काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट सेवा प्रदान गरिँदै आएको छ ।

प्रतिव्यक्ति रु दुई हजारदेखि पाँच हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिइँदै आएको छ । अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा इ–सेवामार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था छ । कम्पनीले साल्ट ट्रेडिङ लिमिटेडसँग समन्वय गरी गहुँको पिठो र आयो नून तथा डिडिसीसँग समन्वय गरी शुद्ध घिउ बिक्री गर्दै आएको छ ।

यसअघि बिक्री गरिँदै आएको विद्युतीय चुलोलाई समेत बिक्रीमा राख्ने तयारी भएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो खरीद गरी बिक्रीमा राख्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३११ जनाको मृत्यु भएको हो ।

त्यस्तै अहिलेसम्म कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या अहिलेसम्म भारतमा तीन लाख २० हजार ९२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ११ हजार ९२९ नयाँ संक्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख चार हजार ५६८ संक्रमित फेला परेका छन् भने तीन हजार ८३० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४२ हजार ६८७ संक्रमित फेला परेका छन् भने ३९७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ३८ हजार ९५८ जना संक्रमित भेटिँदा एक हजार २७१ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २३ हजार ३८ संक्रमित फेला परिसकेका छन् भने एक हजार ४४८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ११८ संक्रमित फेला परेका छन् भने ३८५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १० हजार ६९८ संक्रमित भेटिएका छन् भने ४६३ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार २९० संक्रमित फेला परेका छन् भने ३९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ६२ हजार ३७९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने

0

काठमाडौं । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुलसीप्रसाद थपलियाले अनलाइनखबरसँग भने, ‘टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ भोलिदेखि सुरु हुने रुटिन निकालिसकेका छौं ।’

उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ ।

विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। थपलियाले बताए ।

‘आठ कक्षासम्मकालाई हुने एउटा–एउटा पुस्तक बनेको छ । यसको डिजिटल कपी तयार छ । ३ कक्षासम्मको डिजिटल कपी हाम्रो वेबसाइटमा राखिसकिएको छ । चारदेखि–आठ कक्षासम्मको हामी आज–भोलिमै राखिसक्ने गरी तयारी गरिरहेका छौं,’ डा। थपलियाले भने ।

कतिपय पालिकाले तीन कक्षासम्मको सामग्री घर–घरमा र टोल–टोलमा धमाधम वितरण गरिरहेको उनले बताए । त्यो सामग्री घरमै बसेर सिक्ने सक्ने खालको रहेको उनको भनाइ छ ।

विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएमको पनि प्रयोग गरिरहेको उनले बताए । रेडियो नेपाल र थुप्रै एफएमबाट पनि पढाउने व्यवस्था मिलाइएको डा। थपलियाले बताए ।

उनले भने, ‘कक्षा ६ देखि ८ सम्मलाई टार्गेट गरेर कान्तिपुर एफएमले पनि भोलिबाट हप्ताको पाँच विषयगत पाठ पढाउन सुरु गर्दैछ, रेडियो नेपालबाट भोलिदेखि नै कक्षा ९ र १० को सामग्री प्रसारण हुँदैछ । अरु थुप्रै लोकल एफएमबाट प्रसारण गर्ने तयारी पनि स्थानीय तहहरुले गरिरहेको जानकारी प्राप्त भएको छ ।’

लकडाउनकै बीचमा कतिपय विद्यालयहरुले इन्टरनेट प्रविधि प्रयोग गरी विद्यार्थीहरुलाई पढाइरहेका छन् ।

हेर्नुहोस् पढाइ हुने तालिका

नेपालमा थप २७३ जनामा संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ हजार ३३५ पुग्यो

नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेका छन्

यस्तै बितेको २४ घण्टामा ३६ जना संक्रमित निको भएको र योसँगै कुल निको हुनेको संख्या ९१३ पुगेको उनले बताए ।

यसैबीच कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको गौतमले बताए । उनमा केोरोना पुष्टि भएको छ ।

यसैगरी पर्सामा जेठ २८ गते मृत भेटिएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पोस्टमार्टमका क्रममा उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।