बाल प्रतिभाको अन्तर्राष्ट्रिय यात्रा : लिटल च्याम्पियन्स नेपाल सिजन–२ सुरु

0
247

काठमाडौ । व्ल्याक वर्ड ईन्टरटेनमेन्टको आयोजनामा सञ्चालन हुने बाल प्रतिभा खोज कार्यक्रम लिटिल च्याम्पियन्स नेपालले पहिलो सिजनको  सफलतापछि दोस्रो सिजन  सुरु गरेको छ। पहिलो सिजनले सहभागिता, व्यवस्थापन र प्रतिफलका दृष्टिले उत्कृष्ट सफलता प्राप्त गरेपछि अभिभावक, विद्यालय तथा विद्यार्थीहरूको व्यापक मागका आधारमा यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाइएको आयोजकले जनाएको छ।

यस अन्तर्गत लिटल च्याम्पियन्स नेपाल दोस्रो सिजनको अडिसन मंसिर ६ गते सम्पन्न भएको थियो। अडिसनमा काठमाडौं तथा आसपासका ४० वटा विभिन्न विद्यालयका करिब ४ सय विद्यार्थीहरूले नृत्य र गायन विधामा आफ्नो लुकेका प्रतिभा प्रस्तुत गरेका थिए। निष्पक्ष र कडा मूल्याङ्कनपछि तीमध्येबाट १०० जना उत्कृष्ट प्रतियोगीहरू आगामी चरणका लागि छनोट गरिएका छन्।

छनोट भएका प्रतियोगीहरूका लागि मंसिर १३ गतेदेखि प्रत्येक शनिबार गरी लगातार ७ सातासम्म नियमित प्रशिक्षण कक्षा सञ्चालन गरिनेछ। प्रशिक्षण अवधिमा उनीहरूलाई नृत्य तथा गायनसम्बन्धी प्राविधिक सीप, मञ्च प्रस्तुति, आत्मविश्वास अभिवृद्धि, अभिव्यक्ति कला तथा अनुशासनसम्बन्धी अभ्यास गराइने आयोजकले जानकारी दिएको छ। प्रशिक्षण सम्पन्न भएपछि कार्यक्रमको भव्य अन्तिम चरण (ग्रान्ड फिनाले) आयोजना गरिनेछ, जहाँ सबै प्रतियोगीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

अन्तिम प्रतिस्पर्धाबाट डान्स सिनियर समूह, डान्स जुनियर समूह, गायन समूह अन्तर्गत विजेता तथा उपविजेताको घोषणा गरिनेछ। विशेषगरी शीर्ष विजयी प्रतिभाहरूले थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। यसले बाल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई अझ गुणस्तरीय र व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगीहरूलाई नृत्यसम्बन्धी प्रशिक्षण सन्दिप भुजेल, शान्ति तामाङ्ग,अस्विन गुरुङ्ग तथा युनीका खतिवडा बाट प्रदान गरिनेछ भने गायन तथा संगीतसम्बन्धी प्रशिक्षण विभुषण राईबाट प्रदान गरिनेछ। अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा बालबालिकाले आफ्नो प्रतिभा निखार्ने, मञ्चीय अनुभव हासिल गर्ने तथा भविष्यको व्यावसायिक यात्राका विषयमा महत्वपूर्ण मार्गदर्शन पाउने आयोजकले जनाएको छ।

आयोजकका अनुसार पहिलो सिजनमार्फत धेरै बालबालिकाले पहिलोपटक ठूलो मञ्चमा आफ्नो प्रस्तुति दिने अवसर पाए, जसले उनीहरूमा आत्मविश्वासको विकास गर्यो। साथै विभिन्न विद्यालयहरूबीच आपसी सद्भाव र सम्पर्क सञ्जाल विस्तार भयो भने अभिभावकहरूले पनि आफ्ना सन्तानमा रहेको प्रतिभा नजिकबाट अवलोकन गर्ने अवसर पाए। यही सफलताको निरन्तरता स्वरूप दोस्रो सिजनलाई अझ बलियो संरचना, अनुभवी कार्यसम्पादन टोली र स्पष्ट अन्तर्राष्ट्रिय लक्ष्यसहित सञ्चालन गरिएको हो।

बालबालिकाको बहुआयामिक विकास, सांस्कृतिक संरक्षण तथा कला क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्न चाहने नयाँ पुस्तालाई प्रेरित गर्नु नै लिटल च्याम्पियन्स नेपालको मुख्य उद्देश्य रहेको आयोजकले स्पष्ट पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here