“समाजमा कहिले विवादास्पद बनेकी आशिका तामाङ, अहिले पीडितको भगवानझैँ सहारा”

0
75

काठमाडौं, असोज ११

पछिल्लो समय चर्चामा रहेकी सामाजिक अभियन्ता आशिका तामाङले ‘जेनजी आन्दोलन’ मा घाइते भएका प्रदर्शनकारीहरूको उपचार तथा दैनिक आवश्यकता पूरा गर्न सक्रिय रूपमा लागी परेकी छन्।

आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई मन नै छुने गरेर बाबु-राजा भन्दै अस्पतालमै गएर बस्नलाई म्याटट्रेस, खाना, पानी, लुगाफाटा, औषधि लगायतका सामग्री पुर्‍याउँदै आएको उनको पहलले प्रशंसा पाइरहेको छ। मृतक तथा घाइतेका परिवारलाई आर्थिक सहयोग पुर्‍याउने काममा समेत सरकारले चासो नदेखाउँदा उनी सक्रिय रहिन्। विभिन्न व्यक्तिहरूबाट प्राप्त सहयोग रकम र सामग्रीलाई उनले घाइतेसम्म पुर्‍याउँदै आएकी छिन्। अस्पतालमा आफन्त नभएका पीडितहरूको स्याहारसमेत उनले गर्दै आएको भन्दै “जहाँ आफन्त पुग्दैनन्, त्यहाँ आशिका पुग्छिन्” भन्ने अभिव्यक्ति व्यापक भएको छ।

विगतका दिनहरुमा आशिका तामाङ कानुनी विवादमा धेरैपटक परेकी छिन् । भक्तपुर जिल्ला अदालतले साँघु झोलुङ्गे पुलमा प्रवेश शुल्क असुलीविरुद्ध गरेको प्रदर्शनका क्रममा नगरपालिका कर्मचारीसँग अभद्र व्यवहार, रसिद च्यात्ने र सूचनापाटी जलाएको ठहर गर्दै उनलाई पाँच दिन कैद, पाँच सय रुपैयाँ जरिवाना, आठ हजार तीन सय रुपैयाँ क्षतिपूर्ति र दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय समेत दिएको थियो। उनले विभिन्न समाजमा भएका अन्याय एवम् सार्वजनिक स्थानमा भएका फोहोरमैला, लापरवाही विरुद्ब आवाजहरु उठाउदै सामाजिक सञ्जालमा पोस्टहरु हाल्ने गर्थिन् जसको फलस्वरुप उनी पटक-पटक ट्रोल समेत हुन पुगेकी थिइन् । यद्यपि, आफ्ना समर्थकहरूले उनलाई “अन्यायविरुद्ध आवाज उठाउने साहसी युवती” का रूपमा लिएका छन् भने आलोचकहरूले उनको शैली अत्यधिक आक्रामक भएको टिप्पणी गर्दै आएका छन्।

हिजो मात्र “On Air With Sanjay” नामक एउटा पोडकास्टमा भावुक हुँदै उनले आफूले ८ वर्षको उमेरदेखि नै संघर्ष गर्दै अर्काको घरमा काम गर्न बसी पढेको खुलासा गरिन् । त्यस्तै आफू एउटै ठाउँमा टिकेर बस्न नसक्ने व्यक्तित्व भएको चर्चा परिचर्चा समेत गरिन् । उनले अब आफ्नो अर्को कदम भनेको आन्दोलनका क्रममा घाइते भएका भाईबहिनीहरुकाो घर-घरमा आर्थिक एवम् भावनात्मक सहयोग पश्चात् नेपालको मध्यपश्चिम र सुदूरपश्चिममा रहेको छाउपडी कुप्रथा जसमा महिला र किशोरीहरूलाई महिनावारी जस्तो प्राकृतिक नियमित प्रक्रियालाई अपवित्र र अशुद्ध भनी घर बाहिर छाउ गोठमा राखिने गरिन्छ, त्यसको निर्मूल अर्थात् अन्त्य गर्न विभिन्न आवाजहरु उठाई जनचेतना फैलाउने बताएकी छिन् ।

समर्थन र आलोचनाबीच पनि आशिका तामाङ निरन्तर सामाजिक काममा सक्रिय देखिएकी छन्। विशेषगरी जेन्जी आन्दोलनमा घाइते युवाहरूलाई दिएको सहयोगले उनको ‘सामाजिक अभियन्ता’को छवि अझ बलियो बनाएको देखिन्छ।


worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here