धनगढी । सुदुरपश्चिम प्रदेशका पहिलो नायक एवं वरिष्ठ कलाकार अम्बिका प्रसाद आचार्यले धनगढीमा ए. एस. उडान फिल्म प्रोडक्सन संचालनमा ल्याएका छन । प्रतिनिधि सभाका सदस्य डिल्लीराज पन्त र सुदूरपश्चिम प्रदेश सभाका सदस्य धर्मराज पाठक, नायक श्रीदेब भट्टराई, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुईटेलले सो कार्यालयको औपचारिक शुभारम्भ गरेका थिए ।
सोही अवसरमा ए. एस. उडान फिल्म प्रोडक्सनले निर्माण गरेको ऋतु बाल लघु राष्ट्रिय चलचित्रका कलाकारहरुलाई सम्मानित गरिएको थियो । प्रमुख अतिथी प्रतिनिधि सभाका सदस्य पन्त र सुदुरपश्चिम प्रदेश सभाका सदस्य पाठक, नायक भट्टराई , कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष लुईटेलले कलाकारहरुलाई प्रशंसापत्र एवं सम्मान प्रदान गरेका हुन् ।
राष्ट्रिय चलचित्र बिकास बोर्डबाट इजाजत लिएर प्रोडक्सनले निर्माण गरेको ऋतु बाल लघु चलचित्रको निर्देशन र कथा लेखन अम्बिका प्रसाद आचार्यको गरेका हुन् । शैक्षिक तथा सन्देशमुलक उक्त बाल लघु चलचित्रको कथा सम्पादक स्तुति आचार्य, क्यामेरामेन अनिल चौधरी तथा प्राविधिक लाइट्स्मेन योगेश अवस्थी रहेका छन् ।
सुदूरपश्चिममा नै छायांकन गरिएको ऋतु बाल लघु चलचित्रमा कलाकारहरु सोनिया बम, सुस्मिता कुँवर खड्का, सबिना कँडेल (बलायर), सुशील प्रकाश जोशी, ज्योति उप्रेती, जवानी चौधरी, अभिषेक थापा, अमृता कार्कीको अभिनय रहेको छ ।

सोही समारोहमा नेपाली चलचित्रका चकलेटी नायक तथा मोडेल भट्टराई र कार्यक्रम व्यवस्थापन संघ नेपालका अध्यक्ष एवं विश्वकिर्तिमानी राजेन्द्र लुइटेललाई खादा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले आचार्यले बिगतदेखि नै कलाकारितामा पुरयाएको योगदान उच्च रहेको बताउँदै अचार्यले अभिनय गरेको अर्पण चलचित्रको आफुले हेरेको सम्झना अझै रहेको बताए । आचार्यले सो चलचित्रमा गरेको सशक्त अभिनय आफ्नो मानसपटलमा आजसम्म ताजै रहेको उनले बताए ।
आचार्य आज कलाकार उत्पादनका लागि ब्यानर बनाएर लाग्नु यस क्षेत्रको लागि निकै प्रशंसनिय कार्य भएको पन्तले बताए ।
सुदुरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले सुदुरपश्चिमको पहिलो नायक अम्बिका प्रसाद जीले आफुलाई नायकदेखि ऋतु बाल लघु चलचित्रबाट निर्माता र निर्देशकका रुपमा पनि आफुलाई स्थापित गरेको बताए ।

नायक भट्टराईले सुदुरपश्चिम कला क्षेत्रमा धनी भएको बताउँदै यहा फिल्म निर्माणका लागि निकै आकर्षक क्षेत्रहरु रहेको बताए । सुदुरपश्चिममा आफुले तीन चलिचित्रमा अभिनय गरिसकेको भट्टराईले बताए । त्यसै गरि कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष लुईटेलले यसरी सुदुरपश्चिमकै एक चिनारी बोकेर राष्ट्रिय स्तरमा कलाकारिताको माध्यमबाट बेग्लै छवी बनाएका पहिलो नायकले संचालनमा ल्याएको फिल्म प्रडक्सन उद्घाटन गर्नुं पाउनु आफुलाई गर्व महशुस भएको बताए ।
निर्माता तथा निर्देशक आचार्यले सुदुरपश्चिममा नै कलाकार उत्पादन गर्ने कलेज तथा इन्स्टिच्युट स्थापना गर्ने, अभिनय प्रशिक्षण सिकाउने इन्स्टिच्युट स्थापना गर्ने र सुदुरपश्चिमका सबै भाषाभाषीमा चलचित्र निर्माण गर्ने लक्ष्य रहेको बताए ।
शुभारम्भ एवं सम्मान समारोह ए. एस. उडान फिल्म प्रोडक्सनका निर्देशक अम्बिका प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव गुणाकर पनेरुले गरेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरुले आ आफ्नो प्रस्तुती दिएका थिए ।




