गोरखा, १५ मंसिर- गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लीचोक स्थित भद्रकाली मा.वि. र थुम्का प्रा.वि. का १ सय ३८ जना चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खाजा सहयोग गरिएको छ । भद्रकाली मा.वि. का ५० जना, थुम्का प्रा.वि. का ८८ जना चेपाङ विद्यार्थीलाई कापी, कलम, ज्यामिती बक्स, बिस्कुट लगायतका सामग्रीहरु सहयोग गरिएको हो । काठमाडौं महानगर -३, महाराजगन्ज, मनिकुल टोल घर भई विगत लामो समयदेखि ताइपेइ ताइवानमा बस्दै आएका रोहित श्रेष्ठ, आरुघाट गाउँपालिका वडा नं. ५ अल्काटार स्थायी घर भई हाल हङ्गकङ्गमा बस्दै आएका आकाश बञ्जारा र गण्डकी गाउँपालिका वडा नं. ५ दर्बुङ घर भई हाल जापानमा रहेका बिराट बाबु खनालले सो सहयोग उपलब्ध गराएका हुन । ताइपेइ ताइवान निवासी रोहित श्रेष्ठले सो सामग्री सहयोग गर्नको लागि रु. १ लाख रुपैया तथा आकाश बञ्जारा तथा बिराट बाबु खनालले रु. ५० हजार रुपैया सहयोग उपलब्ध गराएका थिए । रोहित ताइपेइ ताइवानका सफल ह्यान्डीक्राफ्ट ब्यबसायी एवं मेडिटेसन तथा साउण्ड थेरापीका मास्टर समेत हुन । उनले सो सहयोग रकम काठमाडौं निवासी आमा कमला श्रेष्ठ मार्फत स्वर्गीय बुबा रामकुमार श्रेष्ठको पुण्य स्मृतिमा उपलब्ध गराएका हुन । रोहित श्रेष्ठले बिपन्न चेपाङहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै आगामी दिनमा पनि बिपन्न र समस्यामा परेकाहरुलाई सहयोग गर्ने बताएका छन् । सो सहयोग कार्यक्रमका लागि ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष समेत रहेका आकाश बन्जारा र सचिब बिराटबाबु खनालले समन्वय गरेका थिए । भद्रकाली मा.वि. भुम्लीचोकमा आयोजित एक कार्यक्रमका बिच सो सामग्रीहरु विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । सो विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रिम्क गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरले विद्यार्थीहरुलाई सो सामग्रीहरु हस्तान्तरण गरे । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि राना मगरले चेपाङ विद्यार्थीको शैक्षिक विकासको लागि विदेशमा रहेर सहयोग उपलब्ध गराईएकोमा धन्यवाद व्यक्त गरे । उनले सहयोगीदाताहरु रोहित श्रेष्ठ, आकाश बञ्जारा तथा बिराट बाबु खनाललाई विपन्न चेपाङहरुको शैक्षिक उन्नतिको लागि पुर्याएको योगदान प्रति गाउँपालिकाको तर्फबाट आभार प्रकट गरे । सोमबार आयोजित कार्यक्रममा सोही वडाका अध्यक्ष जीवन गुरुङ, विद्यालयका प्रधानाध्यापक नरेन्द्रराज तिमल्सिना, चेपाङ अभियन्ता केपीकिरण शर्मा, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा पत्रकार शिशिर सिंखडा, समाजसेवी निलकण्ठ लामिछाने, देवेन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400