काठमाण्डौ- भाद्र ३०
सरकारले आगामी बडादशैंलाई लक्षित गर्दै सुपथ मूल्य पसलहरू आजदेखि सञ्चालनमा ल्याएको छ। यस पहलअन्तर्गत उपभोक्ताहरूले दैनिक आवश्यक पर्ने चामल, चिनी, दाल, खानेतेल, नुन, आलु, प्याज लगायतका विभिन्न खाद्य तथा उपभोग्य सामग्रीहरू सामान्य बजारभन्दा कम मूल्यमा किन्न सक्नेछन्। यो कदम विशेषगरी मध्यम वर्ग र आर्थिक रूपमा कमजोर परिवारहरूको आर्थिक भार घटाउने उद्देश्यले लिइएको हो। सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएपछि उपभोक्ताहरूले गुणस्तरीय सामग्रीहरू किफायती मूल्यमा सहजै पहुँच पाउने अवसर पाउनेछन्।
काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानका बिक्री केन्द्रहरूसहित तीन वटा घुम्ती पसलसमेत राखी कुल ३५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ। त्यस्तै, देशभरका विभिन्न प्रमुख शहर र जिल्लामा कुल ४८ स्थानमा सुपथ मूल्य पसल संचालनमा ल्याइनेछ। यस पहलमार्फत सरकारले उपभोक्तालाई सस्तो, गुणस्तरीय र भरपर्दो सामानको सुनिश्चितता दिन खोजेको छ। यस्तो कदमले विशेष गरी चाडपर्वको समयमा मूल्य नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।




